रुकुमपश्चिममा जिप दुर्घटना, मृत्यु हुनेको संख्या सात पुग्यो
रुकुमपश्चिम,कात्तिक ८ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्याला गाउँकी ३० वर्षीया कमला ओली, सोही नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १७ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल ओली रहेका छन्। एक जनाको पहिचान खुलेको छैन।
दुर्घटनामा १० जना घाइते भएका छन्, जसमा चालक टोपजंग बुढासहित ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्था र जिल्ला अस्पताल सल्ले ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो।
शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना नजिक झारमारे लेकमा दुर्घटनाग्रस्त भएको थियो।
क्षमताभन्दा बढी यात्रु बोकेको कारण जिप सडकबाट करीब ७ सय मिटर तल खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

