देश जोगाउने जिम्मा अरूले लिन्छन् भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईं
काठमाडौं,कात्तिक ९ — ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोड्न तयार रहेको बताएका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल गम्भीर संकटमा परेको दाबी गर्दै देश जोगाउनुपर्ने जिम्मा अरूले लिन सक्ने हो भने आफू स्वेच्छाले देश छोड्न तयार रहेको बताएका हुन्।
उनले भने, “म कसैबाट चलेको मान्छे होइन। म नेपाल र नेपाली जोगाउन मेरो क्षमताले भ्याएसम्म लागिरहेको छु। तर तपाईंहरूले भन्नुहुन्छ — देश छोडेर जा, भने पनि म जान्छु। यो देश कसैले बनाउँछ भने म जान तयार छु। तर नेपाल बचाइयोस्, विदेशिएका नेपाली फर्काइयोस् र फर्किने वातावरण बनोस्।”
प्रसाईंले आफ्नो राजनीतिक यात्रा पनि स्मरण गर्दै भने, “म २०५७ सालदेखि नेकपा (माओवादी) हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको मान्छे हुँ। जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्छ।”
उनले थपे, “हिजो जे भयो भयो, हामी सबैले बाटो बिर्सियौं। अब कमसेकम देश जोगाऔं। नेपाल भुंग्रोमा गएको छ, त्यसलाई उठाएर न्यानो ठाउँमा लैजाऔं। मान्छेले न्यानोपन खोजिरहेको छ, अब सुधार्नुपर्ने बेला आएको छ।”
प्रसाईंले सञ्चालन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ हाल राजसंस्था पुनर्स्थापनाको मागसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

