छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएर मनाइँदै
काठमाडाैं,कात्तिक १० । कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ।
चार दिनसम्म मनाइने सूर्य आराधनाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीसम्म चल्ने गर्दछ। शनिबारदेखि प्रारम्भ भएको यस पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समापन गरिनेछ।
पौराणिक कथनअनुसार महाभारतकालमा द्रौपदी र पाँच पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। सोही कालदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ। त्यस्तै, सूर्य पुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, जसलाई नै यो पर्वको प्रारम्भिक आधार मानिन्छ।
छठ पर्व सूर्यदेवप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक मानिन्छ। सूर्य बिना पृथ्वीमा जीवन सम्भव छैन भन्ने मान्यताअनुसार यस पर्वले प्रकृति र जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ। सूर्य किरणबाट रोग निवारण हुने र आरोग्य प्राप्त हुने विश्वासले पनि यस पर्वलाई वैज्ञानिक दृष्टिले अर्थपूर्ण बनाएको छ।
साम्ब पुराणमा उल्लेख भए अनुसार भगवान् कृष्णका पुत्र साम्बले कुष्ठरोगबाट मुक्ति पाउन सूर्य आराधना गरेपछि स्वस्थ भएका थिए। त्यसैले पनि छठ व्रत गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइने जनविश्वास रहेको छ।
यस पर्वमा व्रतालुहरूले दाल, भात, गहुँ, चामल, अदुवा, केरा, सुपारी, दुध, ठकुवा, ठकुवा, र विभिन्न फलफूलहरू चढाउँछन्। जो स्वयं व्रत बस्न सक्दैनन्, उनीहरू अरू व्रतालुहरू मार्फत आफ्नो कामना व्यक्त गर्छन्। आर्थिक अभाव भएकाहरू समेत भिक्षा मागेर भए पनि यो पर्व श्रद्धा र भक्तिभावका साथ मनाउने चलन रहेको छ।

