निर्वाचन सफल पार्ने सरकारको पूर्ण प्रतिबद्धता : सञ्चारमन्त्री खरेल



ललितपुर, कात्तिक ११— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सरकारको पूर्ण प्रतिबद्धता रहेको बताएका छन्।

ललितपुरको इमाडोलस्थित बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले आयोजना गरेको छठ पूजामा सोमबार सहभागी हुँदै मन्त्री खरेलले सरकारले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिको निष्पक्ष अनुसन्धान अघि बढाउन कुनै कमी नगर्ने बताएका हुन्।

मन्त्री खरेलका अनुसार अहिलेको सरकार देशमा स्थायित्व, पारदर्शिता र जिम्मेवार शासन प्रणाली स्थापनाका लागि क्रियाशील छ। उहाँले छठ पर्वलाई तराई–मधेशबासी मात्र नभई सम्पूर्ण नेपालीको साझा गौरव र आत्मीयताको पर्वका रूपमा उल्लेख गर्दै देशभरका नेपालीलाई शुभकामना व्यक्त गरे।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादव, स्थानीय बासिन्दा र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष यादवले मन्त्री खरेलको सहभागिताले कार्यक्रमलाई थप हौसला मिलेको बताए। उनका अनुसार बोजेपोखरीमा वर्षेनी भक्तजनको भीड बढ्दै जाने भएकाले पूजा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग आवश्यक छ।

छठ पूजा महालक्ष्मी नगरपालिका वडा नं ३, बोजेपोखरी संरक्षण तथा विकास समिति र बोजेपोखरी खानेपानी तथा सरसफाइ समितिको सहकार्यमा आयोजना गरिएको हो। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सुरु भएको पूजा मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्