बिपी राजमार्गमा कार दुर्घटना, एकको मृत्यु र दुई घाइते



सिन्धुली,कात्तिक ११ — बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन्। दुर्घटनामा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा.७ च.७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो।

दुर्घटनापछि तत्काल उद्धार गरी तीनै जनालाई आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पुर्‍याइएको थियो। तर, कार चालकसमेत रहेका ओमबहादुर अर्जेललाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।

घाइते सुनिता र निशान्तलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाको कारणका बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्