नुवाकोटको लिखु–६, भट्टथोकमा ठूला एकादशीका अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रमको तयारी
नुवाकोट,कात्तिक १४ । नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकमा शनिबार ठूला एकादशीको अवसर पारेर आयोजना हुन लागेको मेला तथा सांस्कृतिक कार्यक्रमका लागि तयारी तीव्र भइरहेको छ। नेवार समुदायको सामूहिक सहभागितामा परम्परागत ‘फूल तार्ने’ कार्यक्रम यस वर्ष पनि आकर्षणका साथ सञ्चालन गरिन लागेको आयोजकले जनाएको छ।
स्थानीय गणेश मन्दिरको जिर्णोद्धारसँगै कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै स्थानीय जनप्रतिनिधि महेश कुमार डंगोलले सबैलाई मेलामा गरिमामय उपस्थिति जनाउन आग्रह गरेका छन्।
मेलामा दिनभर ‘फूल तार्ने’ सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ भने साँझको सत्रमा विविध सांस्कृतिक प्रस्तुति र प्रतियोगितात्मक लोकदोहोरी कार्यक्रम हुने तयारी गरिएको छ।
लोकदोहोरी क्षेत्रमा ख्यातिप्राप्त गायक जगत बोगटीसहितको टिमले प्रस्तुति दिने भएकाले कार्यक्रम अझ आकर्षक हुने अपेक्षा गरिएको आयोजकहरूको भनाइ छ।

