पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने
कतार,मंसिर ८ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भएको टसमा पाकिस्तान ‘ए’ ले जित निकाल्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो ।
नेपाल आज पाकिस्तान ‘ए’ लाई हराउँदै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउन चाहन्छ । यता, एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको पाकिस्तान ‘ए’ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा यूएई र दोस्रो खेलमा भारत ‘ए’ लाई पराजित गरेको थियो ।
नेपाल र पाकिस्तान ‘ए’ बीच यसअघि सन् २०२३ को संस्करणमा एकपटक भेट भएको थियो । उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । आज नेपाललाई तीन वर्षअघिको हारको बदला लिने अवसरसमेत रहेको छ ।
समूह ‘बी’ को अङ्क तालिकामा पाकिस्तान ‘ए’ ४ अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल २ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

