नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्म स्थगित



काठमाडौं,कात्तिक १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। बैठक स्थगित भएको बारेमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका हुन्।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक कात्तिक १ गते स्थगित भएपछि कात्तिक १३ गते पुनः पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो। पछिल्लो बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा तथा आमन्त्रित सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

यसअघि असोज २८ गते पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै बैठक स्थगित भएको थियो। त्यसपछि असोज ३० र ३१ गते कार्यवाहक सभापति खड्काको सभापतित्वमा बैठक बसेको थियो।

असोज ३१ गतेको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला सङ्ग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह तथा आमन्त्रित सदस्यहरू लगायतले धारणा प्रस्तुत गरेका थिए।

बैठकमा एक सय ६५ सदस्य सहभागी छन्, जसमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा प्रदेश सभापतिहरू समावेश छन्। उनीहरूले पार्टीको १५औँ महाधिवेशन, जेनजी आन्दोलन, प्रतिनिधिसभा विघटनपछि सरकारद्वारा घोषणा गरिएको आगामी फागुन २१ गतेको निर्वाचन, शान्ति–सुरक्षा अवस्था, सुशासन, प्राकृतिक विपद् तथा क्षतिपूर्ति, पुनर्निर्माण, अनुशासनसम्बन्धी मुद्दासहित १० प्रस्तावबारे धारणा राख्ने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको व्यवस्थापन तथा महाधिवेशन तयारीसम्बन्धी गम्भीर छलफल भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्