नुवाकोटको छहरे बजारमा ठूलो एकादशी मेलाको रौनक, स्थानीयको ‘फूल तार्ने’ परम्परागत सांस्कृतिक कार्यक्रम सुरु



नुवाकोट, कात्तिक १५ । नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा ठूलो एकादशीको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम धुमधामसहित सुरु भएको छ। विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वको अवसरमा स्थानीय भट्टथोकका नेवार समुदायको अगुवाइमा ‘फूल तार्ने’ परम्परागत कार्यक्रम अगाडि बढेको हो ।

भट्टथोकस्थित गणेश मन्दिरमा बिहानैदेखि भेला भएका स्थानीय वासिन्दाले फूलमालाको डोली बोकी बाजागाजा, नाचगान र जयघोषसहित रमाउने परम्पराअनुसार नदी तथा खोलातर्फ यात्रा थालेका हुन्। उनीहरूले रामेश्वर धाम हुँदै राक्षेश्वर धाममा पुगेर ‘फूल तार्ने’ विधि सम्पन्न गर्ने कार्यक्रम रहेको छ।

भट्टथोक गणेश मन्दिरको जिर्णोद्धारसँगै यो वर्षको कार्यक्रम अझ भव्य रूपमा आयोजना गरिएको जनाउँदै स्थानीय जनप्रतिनिधि महेश कुमार डंगोलले सबैलाई मेलामा सहभागी भई सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिन आग्रह गरेका छन्।

मेलाभर ‘फूल तार्ने’ सांस्कृतिक कार्यक्रम निरन्तर सञ्चालन हुनेछ भने शनिबार साँझको सत्रमा विविध सांस्कृतिक प्रस्तुति र प्रतियोगितात्मक लोकदोहोरी कार्यक्रम गरिने तयारी भएको आयोजकहरूले बताएका छन्। लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक जगत बोगटीसहितको टिम सहभागी हुने भएकाले कार्यक्रम अझ आकर्षक र मनोरञ्जनपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्