शिक्षकको क्षमता विकासमा साढे २ अर्ब खर्च, विद्यार्थीको सिकाइ कमजोर



काठमाडौं,कात्तिक ७ । विद्यार्थीको सिकाइ उपलब्धि सुधार्न सरकारले पछिल्ला चार वर्षमा शिक्षकको पेसागत क्षमता विकासमा २ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खर्च गरे पनि अपेक्षित नतिजा आउन सकेको छैन।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको राष्ट्रिय उपलब्धि मूल्यांकनअनुसार कक्षा ५ का ७८ प्रतिशत विद्यार्थीले गणितमा न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न सकेका छैनन्। नेपालीमा ४९ प्रतिशत, विज्ञान तथा प्रविधिमा ४७ प्रतिशत र अंग्रेजीमा ५६ प्रतिशत विद्यार्थी न्यूनतम उपलब्धिको तहभन्दा तल छन्।

त्यस्तै, कक्षा १० मा गणितमा ६० प्रतिशत, नेपालीमा ५३.८ प्रतिशत र विज्ञानमा ५०.१ प्रतिशत विद्यार्थी न्यूनतम दक्षताको तहमा पुग्न सकेका छैनन्। अंग्रेजीमा भने २९.४ प्रतिशत विद्यार्थीले न्यूनतम दक्षता हासिल गर्न सकेका छैनन्।

केन्द्रका सूचना अधिकारी लक्ष्मीकुमार खड्काले शिक्षक तालिम र सरकारी लगानीअनुसार विद्यार्थीको सिकाइ उपलब्धि नदेखिएको भन्दै शिक्षण विधि, तालिमको प्रभावकारिता र विद्यालयको सिकाइ वातावरणबारे गहन अध्ययन आवश्यक रहेको बताएका छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले शिक्षकको क्षमता विकाससँगै विद्यार्थीको सिकाइ सुधार गर्न तालिमलाई प्रभावकारी बनाउनुपर्ने बताए। तालिमपछि शिक्षकको शिक्षण विधिमा आएको परिवर्तन र विद्यार्थीको उपलब्धिबीच तुलनात्मक अध्ययन गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

प्रतिक्रिया दिनुहोस्