‘मोन्था’ आँधीको प्रभाव कम हुँदै, पहाडी क्षेत्रमा अझै हल्का वर्षा–हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १६। बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’का कारण अस्तव्यस्त बनेको देशभरको मौसम क्रमशः सामान्य बन्दै गए पनि केही स्थानमा अझै वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ। यद्यपि अन्य धेरै स्थानमा मौसम सामान्य हुँदै गएको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराइ तथा मध्य–पहाडी भूभागमा बिहानैदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
विभागका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो रहेकाले केही स्थानमा बदली र हल्का वर्षा सम्भावित देखिएको हो।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जानकारी दिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहँदै, बाँकी प्रदेशमा मौसम सामान्य तथा सफा रहने विभागले जनाएको छ।
मौसम सामान्य बन्दै गए पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

