सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र, सुशासन र जेन–जीका मुद्दामा निरन्तर संवाद
काठमाडौँ, कात्तिक १८ — सरकारले घोषित मितिमै आगामी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उच्च प्राथमिकताका साथ तयारी अघि बढाएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन–जी का मुद्दालाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल, नागरिक समाज र जेन–जी समूहसँग निरन्तर संवादलाई तीव्रता दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच भएको वार्ताले सकारात्मक वातावरण बनाएको थियो। त्यसअघि कात्तिक ४ गते बसेको सबैदलीय बैठकले पनि आगामी निर्वाचनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिकाका निर्णयहरू गरेको थियो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय चरणबद्ध रूपमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज तथा सरोकारवालासँग संवाद र अन्तरक्रिया गर्दै निर्वाचन तथा सुशासनका एजेण्डालाई सशक्त रूपमा अघि बढाइरहेको जानकारी दिए।
आज सिंहदरबारमा सरकारी स्वामित्वका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँगको छलफलमा मन्त्री खरेलले निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन–जीका मुद्दालाई प्राथमिकतासहित ‘कन्टेन्ट’ उत्पादन र प्रसारण गर्न आग्रह गरे।
उनले भने, “अहिलेको राष्ट्रिय प्राथमिकता निर्वाचन नै हो। निर्वाचन नहुँदा मुलुक संकटतिर धकेलिन सक्छ, त्यसैले सबै क्षेत्रको सहकार्य र सकारात्मक माहोल आवश्यक छ।” उनले सरकारी सञ्चारमाध्यमलाई निष्पक्ष, सन्तुलित र विश्वासिलो सूचना प्रवाहमा सक्रिय भूमिका खेल्न निर्देशन दिए।
मन्त्री खरेलले जेन–जी समूहका आवाज, शहीद परिवार, घाइते र पीडितका पीडा–वेदना उजागर हुने सामग्रीलाई प्राथमिकता दिन आग्रह गरे। नागरिक सरकार भएकाले विगतजस्तो राजनीतिक दबाब सरकारी सञ्चार माध्यममा पर्ने अवस्था नरहेको र स्वतन्त्र रूपमा कार्य गर्न सकिने वातावरण बनाइएको उनले स्पष्ट गरे।
छलफलमा नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस, गोरखापत्र संस्थान र द राइजिङ नेपालका सम्पादकीय प्रतिनिधिहरूले सरकारले तय गरेका एजेण्डा—निर्वाचन, सुशासन, आर्थिक विकास र जेन–जी मुद्दालाई प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको प्रतिवद्धता जनाए।
सञ्चारकर्मीहरूले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीमार्फत सहज बनाइदिन मन्त्री खरेलसमक्ष अनुरोध पनि गरेका छन्।
सरकारले सरोकारवालासँग निरन्तर संवाद, सहकार्य र नीति–निर्णयलाई अघि बढाउँदै आगामी निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र सफल बनाउन सबै तयारी पूरा गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

