काठमाडौं–टोखा- छहरे- त्रिशूली सडक वरपर बान्ता र प्लास्टिक नफाल्न सुझाव
नुवाकोट,कात्तिक १८ । काठमाडौं–छहरे–त्रिशूली सडकखण्डमा दैनिक रूपमा चल्ने विद्युतीय तथा अन्य यात्रुबाहक सवारी साधनहरूले वातावरणमा गम्भीर समस्या सिर्जना गरिरहेको भन्दै स्थानीयले सरोकारवाला निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।
स्थानीयवासीका अनुसार यात्रा गर्ने क्रममा केही यात्रीहरूले बान्ता, प्लास्टिकका पोका, खाद्य पदार्थका रेपर तथा अन्य फोहोरजन्य सामग्रीहरू गाडीको झ्यालबाट नै सडकको दायाँ–बायाँ, घरवरपर र व्यापारिक क्षेत्र अगाडि छ्यापछ्याप्ती फाल्ने गरेको पाइएको हो । सडकछेउमा थुप्रिएको प्लास्टिक र बिभिन्न फोहोरले वातावरणीय सन्तुलनमा प्रतिकूल असर परिरहेको शिवपुरी ८ थानापतिका बिमल पाण्डेले गुनासो गरे ।
समाधानस्वरूप हरेक यात्रुवाहक सवारीमा अनिवार्य रूपमा डस्टबिन राख्ने र सुरक्षित स्थानमा मात्र फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव समेत यसअघि दिइएको थियोे । सुरक्षा निकायको प्रभावकारी समन्वय विना यो सुझाव काम नलागेको स्थानीय बताउँछन्। ।
यस्तै, ढिकुरे, छहरे र गुर्जेमा रहेका प्रहरी चौकीहरूले यातायात व्यवसायी, चालक र सहचालकलाई लक्षित गर्दै नियमित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि अघि सारेका छन् । आवश्यक परे कानूनी कारबाही गर्नसमेत स्थानीयवासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। टोखा- १ झोरका स्थानीय ब्यापारी सालिकराम लामिछानेले पसल अगाडिको मोडमा बान्ताको पोकैपोका हुने गरेको गुनासो गरे।
“हामी सबैले मिलेर प्रयास गरे वातावरण स्वच्छ राख्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौं,” अगुवा युवा समेत रहेका उनले गाडी चालक र यात्रुको चेतनास्तर कमजोर भएको बताए । उनीहरूले आम नागरिकको साझा सबालका रूपमा यो मुद्दालाई राज्यका सम्बद्ध निकायहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।

