राष्ट्रिय सभा निर्वाचन : आयोगद्वारा कार्यतालिका स्वीकृत, पुस २० देखि कार्यक्रम प्रारम्भ
काठमाडौँ, कात्तिक २०। राष्ट्रिय सभा सदस्यको आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार पुस २० गतेदेखि मनोनयन दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण निर्वाचन कार्यक्रम सुरु हुनेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिक व्यवस्थापन सहज र व्यवस्थित बनाउन कार्यतालिका तयार गरिएको हो। उनले राजनीतिक दलहरूसँगको परामर्शपछि आवश्यक परे कार्यतालिकामा परिमार्जन हुन सक्ने बताए। “हाल स्वीकृत कार्यतालिका आयोगको आन्तरिक तयारीका लागि हो। दलहरूसँगको परामर्शपछि पूर्ण निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ,” प्रवक्ता भट्टराईले बताए।
स्वीकृत तालिकाअनुसार मङ्सिर पहिलो सातामा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरिने छ। एक साताको समयसीमाभित्र दर्ता निवेदन दर्ता गराइने र त्यसको छानबिनपछि मङ्सिर दोस्रो साता दर्ता स्वीकृत तथा निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। त्यसैगरी निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्रै प्रकाशित गरिनेछ।
निर्वाचन तयारीका अन्य कार्य कात्तिक महिनाभित्रै पूरा गरिने आयोगको योजना छ। मतदाता नामावली तयारी, आवश्यक सामग्रीको पहिचान, मौज्दात विश्लेषण तथा अनुमान पुसपहिले नै टुंग्याइनेछ भने मतदाता नामावली पुस पहिलो सातामै सार्वजनिक गरिनेछ।
कानुनअनुसार राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षसमेत रहने निर्वाचकमण्डलले मतदान गर्छन्। आगामी फागुन २० गते १९ सदस्यको पदावधि सकिन लागेकाले नयाें सदस्य चयनका लागि निर्वाचन आवश्यक भएको आयोगले जनाएको छ। यी १९ सदस्यमध्ये १८ जनालाई निर्वाचनमार्फत र १ जनालाई राष्ट्रपतिबाट मनोनीत गरिने व्यवस्था छ।
यसअनुसार कोशीबाट ३, मधेशबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२ तथा लुम्बिनीबाट ३ सदस्य निर्वाचित हुनेछन्।
आयोगले पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण गर्ने, पुस दोस्रो साता निर्वाचन अधिकृतको नियुक्ति तथा कार्यालय स्थापना गर्ने योजना बनाएको छ। पुस अन्तिम सातादेखि मतपत्र छपाइलगायतका काम अगाडि बढ्नेछन्। माघ पहिलो सातादेखि प्रचारप्रसार अवधि सुरु हुने र मतदानअघि ४८ घण्टादेखि मौन अवधि लागू हुनेछ।
नेपाल सरकारले कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकमार्फत माघ ११ गते निर्वाचन मिति तोकेपछि आयोगले औपचारिक रूपमा निर्वाचन तयारी तीव्र बनाएको हो।

