परराष्ट्र मन्त्रालयले भन्याे- अत्यावश्यक भएमात्र पासपोर्टको आवेदन दिनु



काठमाडौं,कात्तिक २० । परराष्ट्र मन्त्रालयले राहदानी (पासपोर्ट)को विषय समाधान उन्मुख रहेको भन्दै अत्यावश्यक अवस्थामा मात्र आवेदन दिन आग्रह गरेकाे छ ।

विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भए पनि आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र हाल राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले अनुरोध गरेको हाे ।

मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्णरूपमा सञ्चालन हुने भएकाले हालको संक्रमणकालीन अवस्थामा अत्यावश्यक भएमात्र आवेदन दिन सबैमा आग्रह गरेको छ ।

साथै, मन्त्रालयले यस्तो अवस्थामा सबैले धैर्य गरी सरकारलाई सहयोग पुर्‍याउन आग्रहसमेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालको संक्रमणकालीन अवस्थामा राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक कार्य भइरहेको बताए ।

यही कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) एक हजार जनाको आवेदन लिने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए । यसबाट हालको अत्यावश्यक माग पूरा गर्न सकिने मन्त्रालयको अपेक्षा छ ।

राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो ।

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग ०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुने गरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्