स्थानीय निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मङ्सिरमा हुनुपर्छ : अध्यक्ष ओली



काठमाडौँ,मंसिर ११ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार निर्धारित समयमै हुनुपर्ने बताउनुभएको छ ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले बिहीबार आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो । निष्पक्ष निर्वाचन भएमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य प्रक्रिया भएको उहाँको भनाइ थियो ।

निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले जनताको अभिमतको सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताउनुभयो । संवैधानिक कार्यकाल र समयतालिका परिवर्तन गरेर प्रदेशसभा निर्वाचन अगाडि सार्न नहुने उहाँले स्पष्ट पार्नुभयो ।

यसैगरी, अध्यक्ष ओलीले एमालेभित्र नीति र विचारमा एकरूपता रहेको दाबी गर्दै पार्टीमा रहेर बाहिर जथाभाबी बोल्ने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्