नुवाकोटको पञ्चकन्या गाउँपालिकामा भोलि सार्वजनिक विदा



नुवाकोट,कात्तिक २३ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ । पञ्चकन्या गाउँपालिका–३ स्थित पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि कार्तिक कृष्णपक्ष चतुर्दशीका दिन लाग्दै आएको ऐतिहासिक मेलालाई लक्षित गर्दै गाउँपालिकाले यस वर्ष पनि सार्वजनिक विदा घोषणा गरेको हो ।

कार्तिक कृष्णपक्ष चतुर्दशीदेखि सुरु हुने मेलामा गाउँवासीहरू व्रत बस्ने, पूजापाठ गर्ने तथा पंचमीका दिन विहानैदेखि विभिन्न कार्यक्रम सम्पन्न गर्ने परम्परा रहँदै आएको छ। उक्त मेलाका कारण विद्यार्थी, शिक्षक, गाउँपालिका कर्मचारी तथा स्थानीय निकायका अन्य कर्मचारीहरू प्रभावित हुने भएकाले प्रत्येक वर्ष झैँ यस वर्ष पनि कार्तिक कृष्णपक्षको पंचमीका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

गाउँकार्यपालिका बैठकको निर्णयअनुसार यही कात्तिक २४ गते सोमबार पञ्चकन्या गाउँपालिका भित्रका सर्वजनिक कार्यालय, विद्यालय तथा सरकारी स्वामित्वमा सञ्चालन हुने सबै संघ–संस्थाहरूमा सार्वजनिक विदा दिने जानकारी जारी गरिएको छ।

गाउँपालिकाले एक सूचना मार्फत सबै सरोकारवालाहरूलाई उक्त जानकारी अवगत गराएको छ।

प्रतिक्रिया दिनुहोस्