गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबिच भेट



काठमाडौं,बैशाख १ — गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङ बीच सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई पदभार ग्रहणको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको उल्लेख गर्नुभयो।

भेटमा गृहमन्त्री गुरुङले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि चिनियाँ पक्षसँग आग्रह गर्नुभयो।

यसैगरी, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माणलाई अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्नुपर्ने विषयमा पनि गृहमन्त्रीले जोड दिनुभयो।

दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। उक्त विषयमा चिनियाँ पक्षले सकारात्मक धारणा राख्दै नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको जनाएको छ।

त्यसैगरी, तातोपानी नाका बाट पछिल्लो समय आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति पनि चिन्ता व्यक्त गरिएको थियो। यसबारे राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक रहेको बताउनुभयो।

भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति व्यक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्