वडा कार्यालय भवनदेखि सडकसम्म: पञ्चकन्यामा विकास योजनाको स्थलगत अनुगमन



काठमाडौं, वैशाख ४ । पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार सञ्चालन भइरहेका विभिन्न योजना तथा आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

आज गाउँपालिकाको वडा नं. ५ र वडा नं. १ मा सञ्चालित पूर्वाधार तथा विकास सम्बन्धी योजनाहरुको अनुगमन गरिएको हो । वडा नं. ५ मा ठेक्का प्रक्रियामार्फत निर्माणाधीन वडा कार्यालय भवन र उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको चिउरी खोल्छा सडक ढलान कार्यको निरीक्षण गरिएको छ ।

त्यस्तै, वडा नं. १ मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको वडा कार्यालय भवन, कल्छे ठाँटी–कहाकाला सडक योजना तथा कृषि तथा पशुपन्छी प्रवर्द्धन कार्यक्रम लगायत विभिन्न आयोजनाको समेत स्थलगत अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा योजना अनुगमन समितिकी संयोजक विमला के.सी., सम्बन्धित वडाका वडा अध्यक्षहरू माधवप्रसाद सिटौला र महानन्द ढकाल, पूर्वाधार विकास शाखा प्रमुख, फिल्ड प्राविधिकहरू तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा योजनाहरूको प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे जानकारी लिँदै समयमै प्रभावकारी रूपमा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्