उत्तरी जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी



काठमाडौं, वैशाख ७ । उत्तरी जापान मा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको जोखिम बढेको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ।

स्थानीय समयअनुसार साँझ ४ः५३ बजे गएको भूकम्प इवाटे प्रान्त नजिक प्रशान्त महासागरको तटीय क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ। भूकम्पको धक्का सयौँ किलोमिटर टाढा रहेको टोकियो सम्म महसुस भएको थियो, जहाँ ठूला भवनहरू हल्लिएका विवरण प्राप्त भएका छन्।

जेएमएका अनुसार प्रारम्भिक सुनामी छाल उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ। यसलाई ध्यानमा राख्दै तटीय तथा नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल उच्च भूभाग वा सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ। एजेन्सीले सुनामी छाल एकपटक मात्र नभई बारम्बार आउन सक्ने भएकाले चेतावनी पूर्ण रूपमा नहटुन्जेल सुरक्षित स्थान नछोड्न निर्देशन दिएको छ।

यसैबीच, जापान सरकारको प्रधानमन्त्री कार्यालयले आपतकालीन अवस्था व्यवस्थापनका लागि सङ्कट व्यवस्थापन टोली गठन गरेको जनाएको छ। सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन्।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गममा रहेको यस देशमा बारम्बार भूकम्प जाने गर्छ। करिब १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानमा वार्षिक औसत करिब १,५०० भूकम्पीय धक्का महसुस हुने गर्छ, जसले विश्वका कुल भूकम्पमध्ये करिब १८ प्रतिशत हिस्सा ओगट्छ।

यसअघि सन् २०११ मा जापानमा गएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्पले विनाशकारी सुनामी निम्त्याउँदै ठूलो जनधनको क्षति पुर्‍याएको थियो। २०११ तोहोकु भूकम्प तथा सुनामी का कारण करिब १८ हजार ५०० मानिसको मृत्यु वा बेपत्ता भएको थियो। हालको भूकम्पपछि पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्