व्यवसायी शेखर गोल्छा पक्राउ, जालसाजी शेयर कारोबारमा संलग्नता आरोप
काठमाडौँ,बैशाख १०। व्यवसायी शेखर गोल्छा लाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो को टोलीले उनलाई बिहीबार नक्साल बाट नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रमुख मनोज केसी का अनुसार गोल्छा जालसाजी शेयर कारोबार प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उक्त प्रकरणमा बिचौलिया दीपक भट्ट र सुलभ अग्रवाल सँगको संलग्नता खुलेको छ।
नेपाल धितोपत्र बोर्ड ले तयार पारेको ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’ मा भट्ट र अग्रवालको जालसाजी कारोबारमा गोल्छासमेत संलग्न रहेको उल्लेख गरिएको छ। सो प्रतिवेदन बोर्डको सञ्चालक समितिबाट पारित भई अनुसन्धानका लागि प्रहरीमा पठाइएको थियो।
यसअघि भट्ट र उनका साझेदार, शंकर समूहका उपाध्यक्ष अग्रवाल सम्पत्ति शुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा छन्। उनीहरूको शेयर कारोबारबारे थप अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग को अनुरोधमा धितोपत्र बोर्डले छानबिन अघि बढाएको थियो।
प्रतिवेदनले हिमालयन रिइन्स्योरेन्स, रोहित गुप्ता तथा नेपाल माइक्रो इन्स्योरेन्सलगायतलाई समेत कसूरमा सहयोग पुर्याएको उल्लेख गरेको छ। अनुसन्धान सुरु भएसँगै गोल्छाले केही साताअघि हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
प्रचलित कम्पनी कानुन, बीमा सम्बन्धी नियमन तथा कर्पोरेट सुशासनका सिद्धान्तअनुसार कुनै पनि संस्थाको कोष व्यक्तिगत लगानीमा प्रयोग गर्न दिनु गम्भीर उल्लंघन मानिन्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

