विपद् आउनुअघि नै तयारी गर्न राष्ट्रियसभाको निर्देशन



काठमाडौं, वैशाख ११ — राष्ट्रियसभाका सदस्यहरूले विपद् आउनुअघि नै प्रभावकारी व्यवस्थापनको तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा विपद्जन्य जोखिम न्यूनीकरण, प्रतिकार्य तथा पुनर्लाभको तयारीका विषयमा छलफल गर्दै यस्तो निर्देशन दिइएको हो।

समितिका सभापति जयन्तीदेवी राईले मनसुन सुरु हुन लागेसँगै बाढी, पहिरो लगायतका विपद्का घटनाहरू बढ्न सक्ने भएकाले पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समयमै तयारी गर्न विशेष निर्देशन दिनुभयो।

बैठकमा सहभागी सदस्यहरू ललितजङ्ग शाही, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गा गुरुङ, विष्णुकुमारी सापकोटा र धर्मेन्द्र पासवानलगायतले जोखिम न्यूनीकरणका लागि ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। सदस्य पासवानले विशेषगरी मधेस क्षेत्रमा सुक्खा, बाढी, आगलागी, हावाहुरी र शीतलहरजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम रहने भएकाले प्रभावकारी पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “विपद् आउनुअघि नै रोकथाममा ध्यान दिनुपर्छ, र घटना भइसकेपछि राहत र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ।” बैठकमा उपस्थित गृह सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई सुदृढ बनाउँदै सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।

यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले विगतका प्रयास र चालु वर्षको तयारीबारे समितिलाई जानकारी गराउँदै गत वर्ष विपद्का कारण हुने मानवीय क्षति घटेको उल्लेख गर्नुभयो।

भट्टले आगामी दिनमा अझ प्रभावकारी व्यवस्थापनका लागि कार्ययोजना तयार भइसकेको जानकारी दिँदै स्थानीय तह, सरोकारवाला निकाय तथा सङ्घसंस्थासँग सहकार्य गर्दै जोखिम व्यवस्थापनको आधार तयार पारिएको बताउनुभयो।

प्राधिकरणले सूचना संयन्त्र विस्तार, सञ्चार माध्यममार्फत जनचेतना अभिवृद्धि, तथा विद्यालय पाठ्यक्रममै विपद् सम्बन्धी विषय समेट्ने जस्ता दीर्घकालीन योजना अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्