सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन
काठमाडौं,बैशाख ११ । सरकारले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले मन्त्रिपरिषद्को २०७५ भदौ १ को निर्णय बमोजिम महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको पनि प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै मन्त्रीपरिषद् बैठकले इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सिउरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एसियाली विकास बैङ्कबाट प्राप्त हुने अमेरिकी डलर १ सय १५ मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
यस्तै प्रवक्ता पोख्रेलले पत्रकारले सोधेको प्रश्नमा काठमाडौँ उपत्यका लगायत देशैभरका सुकुम्वासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नै नभएको पनि स्पष्ट पार्नुभयो ।

