देशभर बदलिँदो मौसम: हिमाली क्षेत्रमा वर्षा–हिमपात, तराईमा तातो लहरको चेतावनी
काठमाडौँ, वैशाख ११ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण हिमाली भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहँदा अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।
महाशाखाले कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । केही स्थानमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । कोशी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (हिटवेभ) को जोखिम देखिएको छ ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

