“बाढीको जोखिम अन्त्य गर्न नदी किनारका बस्ती स्थानान्तरण गरिने” — प्रधानमन्त्री बालेन
काठमाडौँ, वैशाख ११। प्रधानमन्त्री बानेन्द्र साह (बालेन) ले काठमाडौँ उपत्यकामा वर्षेनी दोहोरिने बाढी र डुबानको जोखिम अन्त्य गर्न नदी किनारमा बसोबास गर्ने नागरिकहरूको सुरक्षित व्यवस्थापन अनिवार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष बाढीका कारण हजारौँ मानिसले ज्यान जोगाउन घरबार छोडेर भाग्नुपर्ने अवस्था अन्त्य गर्न अब ढिलाइ गर्न नहुने बताएका हुन्। उनले यो समस्या वर्षौँदेखि दोहोरिँदै आएको उल्लेख गर्दै दीर्घकालीन समाधानमा सरकार केन्द्रित भएको बताए।
प्रधानमन्त्री साहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै उनीहरूको अधिकार भएको स्पष्ट पारे। “नागरिकलाई जोखिममा राखेर भोटको राजनीति गर्नु उचित होइन,” उनले उल्लेख गरेका छन्।
उनले नदी किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध हुँदा काठमाडौँका नदीहरू प्रदूषित भइरहेको पनि बताएका छन्। थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीलाई मानवीय ढङ्गले, बल प्रयोग नगरी स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
साथै, उनले सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रण सम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न सरकार आन्तरिक तयारीमा जुटेको उल्लेख गरे। देशभर रहेका वास्तविक सुकुम्बासीलाई पहिचान गरी प्रक्रिया अनुसार जग्गा वितरण गर्ने र दीर्घकालीन समाधान निकाल्ने प्रतिबद्धता उनले दोहोर्याएका छन्।
प्रधानमन्त्री साहले नागरिकलाई आश्वस्त पार्दै जोखिममुक्त र व्यवस्थित बसोबास सुनिश्चित गरिने बताएका छन्।

