पृथ्वीराजमार्ग अन्तर्गत शेरामा बस दुर्घटना : दुईको मृत्यु, २७ घाइते
तनहुँ, वैशाख ११ — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक का अनुसार मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको छ।पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमै पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा २७ जना घाइते भएका छन्। घाइतेहरूलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र मा प्राथमिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
हाल तीन जनाको सोही केन्द्रमा उपचार भइरहेको छ भने एक जना सामान्य अवस्थाका कारण घर फर्किएका छन्। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

