निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक: प्रवेश उमेर घट्यो, अवकाश ६० वर्ष
काठमाडौँ, वैशाख १२ — सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।
विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम मस्यौदा प्रकाशन गरिएको हो। सरकारले उक्त मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव संकलन गर्न सूचना जारी गरेको छ।
सार्वजनिक मस्यौदाअनुसार निजामती सेवामा प्रवेशका लागि उमेरहद घटाइएको छ। यसअघि पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्ष रहेको उमेरहद घटाएर क्रमशः ३२ र ३५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी, अनिवार्य अवकाशको उमेरहद पनि बढाइएको छ। हाल कायम रहेको ५८ वर्षको अवकाश उमेरलाई बढाएर ६० वर्ष पुर्याउने व्यवस्था मस्यौदामा समेटिएको छ।
सरकारले प्रकाशन मितिले सात दिनभित्र आफ्नो राय–सुझाव पेश गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

