गोँगबुको नयाँ बसपार्कबाटै धादिङ–नुवाकोट–रसुवा बस सञ्चालन, सडक जाम घट्ने अपेक्षा



काठमाडौँ, वैशाख १२— नुवाकोट, रसुवा र धादिङ जिल्लामा चल्ने सार्वजनिक सवारीसाधन अबदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाटै सञ्चालन हुन थालेका छन्। यसअघि माछापोखरी र बालाजु क्षेत्रको सडक किनारमा पार्किङ गरी सञ्चालन हुँदै आएका बसहरू शुक्रबारदेखि बसपार्कभित्रै सारिएका हुन्।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल को अध्यक्षतामा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले राजधानीभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातलाई नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार तीन दिनभित्र अनिवार्य कार्यान्वयन गर्ने निर्देशन दिइएपछि शुक्रबार बिहानदेखि उक्त जिल्लाका सवारीसाधन बसपार्कभित्रबाट छुट्न थालेका हुन्।

काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले २०५६ सालमा स्थापना गरिएको नयाँ बसपार्कमा अधिकांश जिल्लाका सवारीसाधन सञ्चालन भइरहे पनि धादिङ, नुवाकोट र रसुवातर्फका गाडी भने माछापोखरी क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका थिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार सडक किनारमै जथाभावी पार्किङ गरेर सवारी सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुँदै आएको थियो। “चक्रपथ क्षेत्रमा लामो दूरीका सवारीसाधनको चाप बढ्दा ट्राफिक जाम झन् बढिरहेको थियो,” उनले भने।

महानगरको निर्णय कार्यान्वयनमा आएसँगै चक्रपथ आसपासको ट्राफिक जाम घट्ने अपेक्षा गरिएको छ। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालि का मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार धादिङ, रसुवा र नुवाकोट जाने सवारीका लागि बसपार्कभित्र छुट्टै ‘ट्रयाक’ र टिकट काउण्टरको व्यवस्था गरिएको छ।

यातायात कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा करिब २० लाख सवारीसाधन सञ्चालनमा छन्। पछिल्लो समय निजी तथा सार्वजनिक सवारीको संख्या तीव्र रूपमा बढ्दै जाँदा र सडक विस्तार पर्याप्त नभएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्