देशभर आंशिक बदली, मेघगर्जनसहित वर्षाको सम्भावना—तराईमा तापक्रम बढ्दै



काठमाडौँ, वैशाख १२ । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा र चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातसमेत भइरहेको छ।

शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानका साथै मधेश, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति हिमाली क्षेत्रमा सामान्यतया बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैबीच देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ। ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्