मानवीयता भुलिँदैन: सार्वजनिक जग्गा संरक्षण अभियानमा संवेदनशील बन्न डंगोलको निर्देशन
काठमाडौं, वैशाख १२ । सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने अभियानमा मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालयको अनुरोधअनुसार सञ्चालन भइरहेका कार्यहरूमा काठमाडौं महानगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने स्पष्ट पारिन्। वैशाख ११ गते नगर कार्यपालिकाका सदस्यहरूबीच भएको छलफलको मार्गनिर्देशनलाई आधार मानेर यस्तो धारणा सार्वजनिक गरिएको उनले उल्लेख गरिन्।
डंगोलका अनुसार संरचना हटाउने क्रममा मानवीय मर्यादाको पूर्ण पालना गरिनेछ। विशेषगरी ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिइने बताइएको छ। साथै, सकेसम्म विवादरहित, सुरक्षित र न्यायपूर्ण ढंगले व्यवस्थापन गर्ने महानगरको नीति रहने उनले स्पष्ट पारिन्।
महानगरपालिकाले सरकारी, ऐलानी, पर्ति तथा सामुदायिक जग्गा संरक्षण गर्दा कानुन र न्यायको प्रतिकूल नहुने गरी अधिकतम प्रयास गरिरहेको पनि उनले जनाइन्। अभियानलाई सफल बनाउन सम्बन्धित निकाय, पदाधिकारी तथा सर्वसाधारण सबैलाई आवश्यक सहयोग र समन्वयका लागि उनले आग्रह गरेकी छन्।

