वैशाख १२ : भूकम्पको सम्झना अझै ताजा, पुनर्निर्माण अधुरै



काठमाडौं, वैशाख १२ । नेपाली समाजका लागि वैशाख १२ एउटा कहिल्यै नबिर्सिने दिन बनेको छ। प्रत्येक वर्ष यो दिन आउँदा विसं २०७२ को विनाशकारी भूकम्पको पीडा फेरि ताजा हुन्छ। एक दशक बितिसक्दा पनि त्यस दिनको त्रासदी र त्यसले छोडेको घाउ अझै पूर्ण रूपमा निको हुन सकेको छैन।

विसं २०७२ वैशाख १२ गते शनिबार बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पमा परी आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए। उक्त भूकम्पले करिब १० लाख निजी आवास, हजारौं विद्यालय, स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको थियो।

दशक बित्दा पनि पुनर्निर्माणको काम पूर्ण रूपमा सकिएको छैन।राजधानीका गल्लीदेखि दुर्गम पहाडी गाउँसम्म धेरै परिवार अझै स्थायी आवासको पर्खाइमा छन्। सरकारी तथ्यांकअनुसार निजी आवासतर्फ आठ लाखभन्दा बढी लाभग्राहीमध्ये अधिकांशले किस्ता प्राप्त गरे पनि करिब ८९ प्रतिशत मात्र पुनर्निर्माण सम्पन्न भएको छ।

पुनर्निर्माणमा ढिलाइ हुनुका कारणमा प्रशासनिक जटिलता, लाभग्राहीको सहभागितामा कमी, जग्गा व्यवस्थापन समस्या तथा आर्थिक अभाव प्रमुख देखिएका छन्। सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँ अनुदानले पूर्ण घर निर्माण गर्न नसक्ने भएकाले धेरै सर्वसाधारणले निर्माण कार्य ढिलो सुरु गरेको सम्बन्धित निकायले जनाएको छ।

सरकारी तथा सार्वजनिक संरचनातर्फ केही प्रगति देखिए पनि सबै काम सम्पन्न हुन बाँकी छ। भूकम्पपछि एक हजारभन्दा बढी स्वास्थ्य भवन निर्माण भएका छन् भने केही राणाकालीन भवनको प्रवलीकरण जारी छ। यद्यपि महालेखापरीक्षकको प्रतिवेदनले पुनर्निर्माण कार्य अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको औँल्याएको छ।

विज्ञहरूका अनुसार नीतिगत अन्योल, निर्माण लागतमा वृद्धि र कमजोर आर्थिक क्षमताले पुनर्निर्माणमा थप चुनौती सिर्जना गरेको छ।पूर्वाधार क्षेत्रका जानकारहरूले स्पष्ट नीति अभाव र कार्यान्वयनमा ढिलासुस्तीका कारण प्रक्रिया प्रभावित भएको बताएका छन्।

यसबीच, भूकम्पीय जोखिम भने अझै कायम रहेको विज्ञहरूको चेतावनी छ। काठमाडौँ उपत्यकासहित चुरे क्षेत्र उच्च जोखिममा रहेको जनाउँदै विज्ञहरूले भवन निर्माण मापदण्डको कडाइका साथ पालना, जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

भूकम्पले नेपाली समाजलाई धेरै पाठ सिकाए पनि ती पाठलाई व्यवहारमा पूर्ण रूपमा लागू गर्न अझै चुनौती देखिएको छ। वैशाख १२ ले हरेक वर्ष स्मरण गराउँछ—प्राकृतिक विपत्तिको जोखिम सधैं रहन्छ, त्यसैले तयारी र सतर्कता अपरिहार्य छ।

प्रतिक्रिया दिनुहोस्