नदी किनारका सुकुमवासी बस्ती हटाउने अभियान तीव्र, थापाथलीमा डोजर चल्यो



काठमाडौं, वैशाख १२ । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र बनाएको छ। सोही क्रममा शनिबार बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दै काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ।

महानगरपालिकाका अनुसार नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणअन्तर्गत थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँ क्षेत्रका सुकुमवासी बस्ती हटाइने छन् भने दोस्रो चरणमा अन्य बाँकी क्षेत्रका बस्ती हटाउने योजना रहेको छ।

बस्तीबाट हटाइएका नागरिकको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने जनाएको छ। विस्थापित नागरिकलाई प्रारम्भिक रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिनेछ, जहाँ उनीहरूको वास्तविक अवस्था पहिचान गर्दै वर्गीकरण (सेग्रिगेसन) गरिनेछ।

विस्थापितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले नागार्जुन नगरपालिका (साविक इचङ्गुनारायण गाविस) मा निर्माण गरेको अपार्टमेन्ट प्रयोगमा ल्याउने तयारी गरिएको छ। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको समयमा वि.सं. २०६९ मा करिब १२ करोड रुपैयाँ लागतमा निर्माण गरिएका ती भवनमा २२४ वटा आवासीय एकाइ रहेका छन्।

निर्माण सम्पन्न भए पनि स्थानीय अवरोधका कारण हालसम्म प्रयोगमा आउन नसकेका ती भवन अब भने उपयोगमा ल्याइने महानगरले जनाएको छ। महानगरले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्