गल्छी–त्रिशूली–मैलुङ सडक आयोजना: नुवाकोटमा पनि चल्यो डोजर
नुवाकोट,बैशाख १२ । राजधानीको विभिन्न स्थानको सुकुम्बासी वस्तीमा डोजर चलिरहदा नुवाकोटको ढुङ्गे विदुर लगायतका विभिन्न स्थानमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाले सडक सीमाभित्र रहेका संरचनाहरूमा डोजर चलाएको छ।
आयोजनाका अनुसार शनिबार पहिलो चरणमा क्षतिपूर्ति रकम बुझिसकेपछि पनि तोकिएको समयभित्र आफ्ना घर तथा टहरा नभत्काउने व्यक्तिहरूका संरचना हटाइएको हो। सडक विस्तार कार्यलाई तीव्र बनाउन अटेर गर्ने संरचनामा कारबाही गरिएको आयोजनाले जनाएको छ।
सार्वजनिक सडक ऐन, २०३१ अनुसार सडक सीमाभित्र पर्ने संरचना हटाउने अधिकार प्रयोग गर्दै आयोजना आफैंले डोजर परिचालन गरेको हो। यस क्रममा प्रभावित क्षेत्रका केही घर तथा टहरा भत्काइएको छ।आयोजनाले पूर्व सूचना जारी गर्दै स्वयं संरचना हटाउन आग्रह गरे पनि अटेर भएपछि बाध्य भएर डोजर प्रयोग गर्नुपरेको जनाएको छ। साथै, संरचना हटाउँदा लागेको खर्चसमेत सम्बन्धित घरधनीबाटै असुल गरिने चेतावनी दिइएको छ।
सडक स्तरोन्नति तथा विस्तारको कामलाई समयमै सम्पन्न गर्न यस्तो कदम चालिएको आयोजनाले जनाएको छ।

