चट्याङ लागेर एकको मृत्यु, कुखुरा फार्ममा ठूलो क्षति



स्याङ्जा,बैशाख १२ — अविरल वर्षासँगै परेको चट्याङका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रबार साँझ करिब ७ बजे परेको चट्याङले कुखुरा फार्ममा समेत ठूलो क्षति पुर्‍याएको छ।

बिरुवा गाउँपालिका–२ श्रीडाँडाका २० वर्षीय मिलन विकको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै बसिरहेका बेला चट्याङको झट्का लागेर घाइते भएका विकको उपचारका क्रममा प्रदेश अस्पताल पुतलीबजारमा शनिबार बिहान मृत्यु भएको हो।

यस्तै, हरिनास गाउँपालिका–४ सारुथरका ५८ वर्षीय खिमबहादुर थापा चट्याङ लागेर घाइते भएका थिए। उनको तनहुँस्थित सेतीगंगा अस्पतालमा उपचारपछि अवस्था सामान्य बनेपछि घर फर्किएको प्रहरीले जनाएको छ। घटना हुँदा थापा कुखुरा फार्मदेखि करिब ३ सय मिटर टाढा रहेका थिए।

चट्याङकै कारण सारुथरस्थित तेजबहादुर थापाको कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ। फार्ममा रहेका साना–ठूला गरी करिब ५ सय ५० वटा कुखुरा मरेका छन् भने संरचना पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्