खोलामा डुबेर एक जनाको मृत्यु
पाल्पा,बैशाख १२— जिल्लाको रामपुर नगरपालिका क्षेत्रमा रहेको निस्दी खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार रामपुर नगरपालिका–१ बैडा बस्ने ३९ वर्षीय खिमबहादुर खाणको शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। उनी रामपुर–३ किर्तिपुरस्थित निस्दी खोलामा पौडी खेल्न गएका थिए।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार खाण आफ्नी ८ वर्षीया छोरीलाई साथमा लिएर खोलामा पुगेका थिए। पौडी खेल्ने क्रममा अचानक डुबेका उनलाई स्थानीयवासीले तत्काल उद्धार गरेका थिए। तर उद्धार गर्दा सम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

