मनोहराको सुकुम्बासी बस्ती हटाउँदा तनाव, डोजर फिर्ता
भक्तपुर, बैशाख १२ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले अवरोध गरेका छन् । घरटहरा भत्काउने क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि डोजर फिर्ता गरिएको हो ।
भक्तपुर प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्काका अनुसार अब भोलि बिहान पुनः बस्तीका संरचना हटाउने कार्य सुरु गरिनेछ । केही पक्की घरटहराहरू डोजरले भत्काएपछि स्थानीयले प्रतिरोध गरेको उहाँले जानकारी दिनुभयो ।
बस्ती खाली गराउन प्रहरीले माइकिङ गरेपछि स्थानीयले शुक्रबारदेखि नै सामान ओसार्न थालेका थिए । मनोहरा क्षेत्रमा ७ सय ७७ घरटहरामा १ हजार ६ सयभन्दा बढी मानिसको बसोबास रहेको थियो । तीमध्ये ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् ।
यस क्रममा स्थानीयसँग झडप हुँदा थिमि प्रहरी वृत्तका प्रमुख डीएसपी नवराज ढुंगानासहित चार जना प्रहरी घाइते भएका छन् । स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन बढाइएको छ ।

