तीन दशकपछि नदी किनारका बस्ती हटाउन सरकार सफल, राजधानीमा समस्या समाधानउन्मुख



काठमाडौं, बैशाख १२ । करिब साढे तीन दशकदेखि पटक–पटक प्रयास गर्दा पनि हटाउन नसकिएका काठमाडौँका नदी किनारका अनधिकृत बस्ती यसपटक विनाअवरोध हटाइएका छन् । यससँगै राजधानीको सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानतर्फ उन्मुख भएको देखिएको छ ।

आज थापाथली, गैरीगाउँ र शान्तिनगरका बस्ती खाली गराइएको छ भने मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउने कार्य पनि सुरु गरिएको छ । सरकारले दिएको समयसीमा सकिएसँगै बिहान ६ बजेदेखि नै अनधिकृत घरटहरा भत्काउने अभियान अघि बढाइएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह ले गत बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सप्ताहन्तमै बस्ती हटाउन निर्देशन दिनुभएको थियो ।त्यसपछि काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सहरी विकास मन्त्रालयबीच समन्वय गर्दै बिहीबार सूचना जारी गरी शुक्रबार साँझसम्म बस्ती खाली गर्न समय दिइएको थियो ।

थापाथलीमा सम्भावित झडपलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि यसपटक अवस्था विगतको तुलनामा शान्त देखिएको थियो । नेपाल प्रहरी र नगर प्रहरीका सुरक्षाकर्मीहरूले सुकुम्बासीका सरसामान सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेका थिए । घरभित्रका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर र ओछ्यानजस्ता सामग्री नोक्सान नहोस् भनेर प्रहरीले नै सक्रिय रूपमा व्यवस्थापन गरेको दृश्य देखिएको थियो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार थापाथलीमा १ सय ४३ भन्दा बढी घरटहरा भत्काइएको छ । त्यसपछि शान्तिनगर र गैरीगाउँ क्षेत्रमा क्रमशः ४ सय ७६ र १ सय ६२ घरटहरा हटाइएको जनाइएको छ । ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्ध चोक र वडा नं ९ को मनोहरा टोलमा पनि बस्ती खाली गर्ने तयारी गरिएको छ । गोठाटारमा ७७ र मनोहरा टोलमा १३ घरधुरी रहेका छन् । शान्तिनगर, गैरीगाउँ, थापाथली, गोठाटार र मनोहरा टोल गरी कुल ८ सय ७१ अनधिकृत घरधुरी रहेको तथ्यांक छ ।

यसअघि २०६१, २०६५, २०७९ र २०८० सालमा पनि थापाथली क्षेत्रको बस्ती हटाउने प्रयास असफल भएको थियो । तर यसपटक भने समन्वय र तयारीका कारण कार्यान्वयन सफल भएको देखिएको छ ।हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबिखोला, मनोहरा, बल्खु र गोदावरी नदी किनारमा करिब ६ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्