बागमती किनार खाली हुँदै : दशकौँ पुराना सुकुमवासी बस्ती हटाइँदै
काठमाडौँ, वैशाख १३ । बागमती नदीकिनारमा दशकौँदेखि फैलिएको अव्यवस्थित बस्ती हटाउने काम सुरु भएको छ । शनिबार काठमाडौँ महानगरपालिका वडा नं. ११ को थापाथली, वडा नं. ९ को गैरीगाउँ र सिनामङ्गल क्षेत्रका अतिक्रमित घरटहरा भत्काइएका हुन् ।
थापाथलीमा डोजर चल्न थालेपछि अन्य क्षेत्रमा रहेका बासिन्दाले पनि धेरैजसो घरटहरा आफैँ भत्काएर सामान सारेका छन् । शान्तिपूर्ण रूपमा बस्ती हटाउन सरकारको पहल प्रभावकारी देखिएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहले सुकुमवासी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपछि अभियान सहज बनेको हो । विगतमा समन्वय अभावका कारण असफल हुँदै आएको नदीकिनार खाली गराउने प्रयास यसपटक अघि बढेको छ ।
सरकारले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्ने योजना अघि सारेको छ । हालसम्म १४४ परिवार सम्पर्कमा आएका छन् भने उनीहरूको विवरण सङ्कलन गरी अस्थायी रूपमा होटलमा राख्ने व्यवस्था गरिएको छ ।
पहिचान प्रक्रिया आइतबारदेखि सुरु हुने र वास्तविक सुकुमवासी ठहरिए दुई साताभित्र नागार्जुनस्थित सरकारी आवासमा स्थानान्तरण गरिने तयारी छ । दीर्घकालीन व्यवस्थापन पनि यसैसँगै अघि बढाइने जनाइएको छ ।
अध्ययनअनुसार काठमाडौँ उपत्यकाका नदी र खोलाकिनारमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बसोबास गर्दै आएका छन् । तीमध्ये काठमाडौँ महानगरमा मात्रै सबैभन्दा बढी घरधुरी रहेका छन् ।बागमतीसँगै अन्य खोलाकिनारमा पनि अतिक्रमण फैलिएको छ । २०५० दशकपछि अनियन्त्रित बसोबास बढ्दा नदी क्षेत्र साँघुरिँदै गएको अध्ययनले देखाएको छ ।
सङ्घीय र स्थानीय सरकारको समन्वयमा अहिले बस्ती हटाउने काम भइरहेको छ । सुरक्षाकर्मीले सामान सार्न सहयोग गरेका छन् भने विगतमा विभिन्न कारणले रोकिएको अभियान यसपटक कार्यान्वयनको चरणमा पुगेको छ ।

