देशभर बदली र वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने चेतावनी



काठमाडौं, वैशाख १३ । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली देखिएको छ भने सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

केही स्थानमा वर्षा पनि भइरहेको छ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा वर्षा हुन सक्ने जनाइएको छ। तर, यही क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशीदेखि सुदूरपश्चिमसम्मका हिमाली भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ।

यसैबीच, देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तापक्रम वृद्धि हुने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्