सवारी दुर्घटनामा दुईको ज्यान गयो, तीन घाइते



कपिलवस्तु,बैशाख १३ । कपिलवस्तुमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किँदा दुर्घटना भएको हो।

शनिबार साँझ बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो साइडमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कपिलवस्तु महाराजगञ्ज नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धरमनगरकी ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

दुर्घटनापछि मृतक दुवैको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। घाइते हुनेहरूमा महाराजगञ्ज नगरपालिका–११ वनगाईका ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी रहेका छन्। उनीहरूको उपचार भइरहेको छ।

उक्त दुर्घटनामा संलग्न ट्रक चालक बुद्धभूमि नगरपालिका–९ इमिलियाका २८ वर्षीय सुरज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्