अचेत भेटिएका बालक मृत घोषित
मुस्ताङ,बैशाख १३ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित श्राद्धस्थलबाट शनिबार कालिगण्डकी नदीमा बेपत्ता भएका एक बालकको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ निवासी ८ वर्षीय बरुण गौलीलाई अचेत अवस्थामा उद्धार गरी प्रादेशिक अस्पताल जोमसोम पु¥याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
बालक बेपत्ता भएको जानकारी आमाले दिएलगत्तै प्रहरी चौकी कागबेनीबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो। कालीगण्डकी किनारमा बालकको चप्पल फेला परेपछि प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाको नेतृत्वमा सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरी खोजीकार्य तीव्र बनाइएको थियो। सोही क्रममा बालकलाई अचेत अवस्थामा फेला पारेर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय जनप्रतिनिधिले श्राद्धस्थल क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। वडा अध्यक्ष कर्म घ्यचो गुरुङका अनुसार कागबेनीस्थित श्राद्धस्थल निर्माणाधीन अवस्थामा रहेकाले भीडभाडका बेला बालबालिका जोखिममा पर्ने सम्भावना उच्च हुन्छ।
उनले पिण्डदानजस्ता धार्मिक कार्यका क्रममा बालबालिकालाई नदी किनारमा नल्याउन तथा सुरक्षित स्थानमा राखेर मात्र सहभागी गराउन अनुरोध गरेका छन्। विगतमा पनि यस्ता घटनाको जोखिमलाई ध्यानमा राख्दै अभिभावकलाई सतर्क रहन आग्रह गर्दै आएको उनले बताए।

