इरानमा ५७ दिनदेखि इन्टरनेट अवरुद्ध, विश्वकै लामो ‘डिजिटल ब्ल्याकआउट’



इरान,बैशाख १३ । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेट अवरोधले ५७ दिन पूरा गरेको छ, जसलाई विश्वकै सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिबन्धका रूपमा लिइएको छ। युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यस प्रतिबन्धले देशको अर्थतन्त्रमा गम्भीर असर परेको दाबी गरिएको छ भने नागरिकहरू सूचनाको मौलिक अधिकारबाट समेत वञ्चित भएका छन्।

इन्टरनेट निगरानी संस्था NetBlocks का अनुसार पछिल्लो ५७ दिनदेखि इरानभर इन्टरनेट सेवा लगभग पूर्ण रूपमा बन्द छ। आठ हप्ताअघि सुरु भएको यो अवरोधले नौ करोडभन्दा बढी नागरिकलाई विश्वसँगको सम्पर्कबाट टाढा पारेको मात्र होइन, आर्थिक गतिविधिहरूमा पनि ठूलो गिरावट ल्याएको छ।

अमेरिका–इजरायल आक्रमणपछि इरानी प्रशासनले सूचना प्रवाह नियन्त्रण गर्न भन्दै इन्टरनेट सेवा बन्द गरेको बताइएको छ।NetBlocks को तथ्यांक अनुसार यो अवरोध एक हजार ३४४ घण्टा नाघिसकेको छ। यसअघि पनि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनका क्रममा यस्तै प्रतिबन्ध लगाइएको थियो।

लामो समयसम्मको इन्टरनेट बन्दले बैंकिङ सेवा, अनलाइन व्यापार र यातायात प्रणाली ठप्प बनेका छन्। विज्ञहरूका अनुसार यसबाट हालसम्म करिब २.५ अर्ब डलर बराबरको आर्थिक नोक्सानी भइसकेको छ भने दैनिक आम्दानीमा पनि ठूलो गिरावट आएको छ।

सञ्चार अवरुद्ध हुँदा सर्वसाधारणले आफन्तसँग सम्पर्क गर्न कठिनाइ भोगिरहेका छन्। विदेशी सञ्चारमाध्यम तथा स्वतन्त्र सूचना स्रोतहरूमा पहुँच बन्द हुँदा देशभित्र डर र अनिश्चितताको अवस्था बढेको छ।

यसबीच इरानी अधिकारीहरूले Starlink जस्ता स्याटेलाइट इन्टरनेट सेवा अवरुद्ध गर्न सैन्यस्तरका ‘ज्यामर’ प्रयोग गरिरहेको जनाइएको छ । साथै वैकल्पिक सञ्चार माध्यमहरू पनि नियन्त्रणमा लिइएका छन्।

एकातिर डिजिटल रूपमा विश्वबाट अलगिएको इरानको कूटनीतिक तनाव पनि बढ्दै गएको छ। इरानका विदेशमन्त्री Abbas Araghchi हाल पाकिस्तान भ्रमणमा रहनुभएको छ, जहाँ क्षेत्रीय सुरक्षाबारे छलफल भइरहेको छ।

हालसम्म इन्टरनेट सेवा पुनःस्थापनाको कुनै निश्चित समयसीमा सार्वजनिक नभएकाले इरानमा ‘डिजिटल अन्धकार’ अझै लम्बिने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्