बाढीपीडितको पुनर्स्थापनामा सरकारको ढिलाइ भएको डा. महतको आरोप



नुवाकोट, मंसिर ७ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापनामा सरकारले ढिलाइ गरिरहेको आरोप लगाएका छन् । बाढी गएको तीन महिना बितिसक्दा पनि सरकारले पीडितको उचित सम्बोधन गर्न नसकेको भन्दै उनले तत्काल सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन् ।

आइतबार नुवाकोटको बट्टारमा नेपाली कांग्रेस नुवाकोटको नियमित जिल्ला अधिवेशन उद्घाटन गर्दै डा. महतले बाढीबाट प्रभावित नागरिकको समस्या समाधानमा सरकारले प्राथमिकता नदिएको बताए ।

उनले बाढीले बगाएका पुल तथा अन्य संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आवतजावत सहज बनाउन पक्की मोटरेबल पुल र पैदल यात्राका लागि आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सरकारसँग माग गरे ।

बाढीबाट ज्यान गुमाएका नागरिकका परिवार, घरजग्गा गुमाएका तथा पसल र व्यवसायमा क्षति व्यहोरेका पीडितको उचित संरक्षण र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

यसैबीच, नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले नुवाकोटका ८८ वटै वडा र १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ । क्षेत्रीय तथा प्रदेश अधिवेशनसमेत सम्पन्न भइसकेको संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए ।

जिल्ला अधिवेशनमा सभापतिसहित पदाधिकारी र महासमिति सदस्यका आकांक्षी धेरै देखिएकाले नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ । नेताहरूले भने सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।

अधिवेशनबाट ७० जना महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । जिल्ला अधिवेशनकै क्रममा महासमिति सदस्यसमेत चयन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्