काठमाडौँ जलवायु कार्य सप्ताह आजदेखि सुरु, १० बालबालिका जलवायु सद्भावना दूत बन्ने
काठमाडौँ, मंसिर ७ । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन आजदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ। सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिने भएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि सप्ताह आयोजना गर्न लागिएको हो। उनका अनुसार जलवायु परिवर्तनका चुनौतीबारे छलफलमा मात्र सीमित नभई स्थानीयस्तरमै ठोस काम सुरु गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षबीच जलवायु परिवर्तनको प्रभाव, प्रभावित समुदाय र न्यूनीकरणका प्रयासबारे अनुभव आदानप्रदान गरिनेछ। सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ सुरु गरिनेछ। महानगरपालिकाभित्रका विद्यालयमा भूमिगत जल पुनःभरण गर्न सकिने सम्भावित स्थानको अध्ययनसमेत गरिएको छ।
दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल हुनेछ। अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत तथा निजी क्षेत्रको लगानी परिचालनबारे विमर्श गरिनेछ।
तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम सञ्चालन हुनेछ। परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ।
त्यस्तै, चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहरमैला व्यवस्थापनका विषयमा छलफल हुनेछ। सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन तथा विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरिनेछ।
पाँचौँ दिनलाई बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा मनाइनेछ। उक्त दिन ५० भन्दा बढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, वृक्षरोपण योजना, जलवायु खेल तथा वातावरणीय सचेतनासम्बन्धी गतिविधि सञ्चालन गरिनेछ। विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।
यसै अवसरमा महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगितासमेत आयोजना गरेको छ। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट १० विद्यार्थीलाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरी वर्षभरि नै जलवायु संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराइनेछ।
सप्ताहको छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तन तथा सातौँ दिन जलवायु परिवर्तन न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको भूमिकाबारे कार्यक्रम सञ्चालन गरिनेछ।
महानगरपालिकाले जलवायु परिवर्तनका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा व्यावहारिक र परिणाममुखी काम अघि बढाउने लक्ष्यसहित सप्ताह आयोजना गर्न लागेको जनाएको छ। रासस

