भारतीय विदेशमन्त्री जयशंकरसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेट, आज मोदीसँग द्विपक्षीय वार्ता हुँदै
नयाँदिल्ली, मंसिर ७ । दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
नयाँदिल्लीस्थित होटल ताजमहलमा आइतबार साँझ भएको करिब २५ मिनेट लामो भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यका विषयमा कुराकानी भएको थियो।
प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले बिदाइ गरेका थिए।
यसपटक प्रधानमन्त्री शाहले विमानस्थलमा परम्परागत रूपमा दिइँदै आएको गार्ड अफ अनर तथा सलामी ग्रहण गरेनन्। यसअघि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदासमेत उनले सलामी ग्रहण गरेका थिएनन्।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई भारतका वाणिज्य तथा उद्योगमन्त्री जितिन प्रसाद र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा विभिन्न मन्त्रालयका सचिव र उच्च अधिकारी सहभागी छन्।
भ्रमणको दोस्रो दिन आज सोमबार बिहान ११ बजेर १५ मिनेटमा हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुनेछ।
बैठकपछि शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनालगायतका क्षेत्रमा आधा दर्जनभन्दा बढी समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।
त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी भएपछि प्रधानमन्त्री शाहले दिउँसो ३ बजेर ३० मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाह सोमबार दिउँसो ४ बजेर ५० मिनेटमा नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गरी साँझ करिब ६ बजेर ४५ मिनेटमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

