बाढी पीडितको पुनर्स्थापनामा सरकारको दाबी र वास्तविकताबीच ठूलो अन्तर छ : गगन थापा
नुवाकोट, मंसिर ७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापनामा सरकारको दाबी र स्थलगत वास्तविकताबीच ठूलो अन्तर देखिएको बताएका छन् । बाढी गएको तीन महिना बितिसक्दा पनि पीडितको पुनर्स्थापनाका लागि सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै उनले तत्काल पुनर्वासका कार्यक्रम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार नुवाकोटको त्रिशूलीमा बाढीपीडित तथा सरोकारवालासँग भेटघाट गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले चिसो बढ्न थालिसक्दा पनि विस्थापित परिवारको सुरक्षित बसोबासको व्यवस्था हुन नसक्नु दुःखद भएको बताए । उनले पीडितको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न विज्ञ टोलीसहित दोस्रोपटक नुवाकोट आएका थापाले त्रिशूली, ढुंगे, देवीघाटलगायतका प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । उनले बाढीबाट प्रभावित स्थानीय, विस्थापित परिवार, जनप्रतिनिधि तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या र पुनर्स्थापनाका आवश्यकताबारे जानकारी लिएका हुन् ।
बाढीपीडित सरोकार समितिका संयोजक सूर्यबहादुर कँडेलले तीन महिना बितिसक्दा पनि सरकारले पुनर्स्थापनाको काम सुरु नगरेको भन्दै पीडितहरू आक्रोशित बनेको बताए । सरकारले आफूहरूलाई बेवास्ता गरेको अनुभूति भइरहेको उल्लेख गर्दै उनले सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न माग गरे ।
कँडेल र समितिका सहसंयोजक अष्टमान डंगोलले पीडितका समस्या तथा माग समेटिएको ज्ञापनपत्र थापालाई बुझाएका थिए । पीडितहरूले पुनर्स्थापना प्रक्रिया अघि नबढेपछि गत महिनादेखि संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
थापाले पीडितका माग र समस्याबारे स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरी प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गर्ने बताए । उनले सरकारलाई आवश्यक सहयोग गर्नुका साथै पुनर्स्थापनामा देखिएका कमजोरीबारे उच्चस्तरीय राजनीतिक संयन्त्र र संसद्का सम्बन्धित समितिमा विषय उठाउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘दुःखको बेलामा हामीलाई यी विषयमा अतिरिक्त राजनीति गर्नु छैन । सरकारलाई सहयोग गर्नु पनि हाम्रो कर्तव्य हो र सरकारलाई घचघच्याउनु पनि हाम्रो जिम्मेवारी हो । त्यसैले आवश्यक ठाउँमा सहयोग गर्छौं र प्रश्न उठाउनुपर्ने ठाउँमा प्रश्न उठाउँछौँ ।’
थापाले विदुर नगरपालिका–१ अन्तर्गतका त्रिशूली र ढुंगे बजारको अवलोकन गर्दै बाढीले स्थानीयको घर, व्यवसाय तथा बजारको ऐतिहासिक र व्यावसायिक पहिचानमा पारेको प्रभावबारे जानकारी लिएका थिए । पीडितहरूले तत्कालीन राहत, सुरक्षित आवास, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, विस्थापित परिवारको पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनका विषयमा आफ्ना माग प्रस्तुत गरेका थिए ।
त्यसैगरी, थापाले विदुर नगरपालिका–५ अन्तर्गत बाणा चौतारो, कोदोबारी, ठूलोगाउँ र पोस्टबहादुर स्मृति पार्कमा स्थापना गरिएका अस्थायी आश्रयस्थलको अवलोकन गरेका थिए । ती स्थानमा आश्रय लिइरहेका करिब ३५० घरपरिवारका विस्थापित नागरिकसँग भेटघाट गर्दै खानेपानी, खाद्यान्न, स्वास्थ्य, सरसफाइ र बसोबासको अवस्थाबारे जानकारी लिएका थिए ।
देवीघाटमा चन्द्रज्योति माध्यमिक विद्यालय नजिकैको अस्थायी आश्रयस्थलमा बसिरहेका बाढीपीडितसँग पनि उनले छलफल गरेका थिए । त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–१ बाट विस्थापित भई विदुर नगरपालिका–५ मा बसोबास गरिरहेका नागरिकले समेत सुरक्षित पुनर्वासको व्यवस्था गर्न माग गरेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीले विस्थापित नागरिकको अवस्था, दैनिक जीवनयापनमा देखिएका कठिनाइ र पुनर्स्थापनाका आवश्यकताबारे सभापति थापाले प्रत्यक्ष जानकारी लिएको बताए । थापाको टोलीले नुवाकोटका त्रिशूली, देवीघाट, बेत्रावतीलगायतका प्रभावित क्षेत्रका पीडित तथा सरोकारवाला समितिका प्रतिनिधिसँग छलफल गरी ज्ञापनपत्रसमेत बुझेको थियो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार भोटेकोशी बाढीले विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका गरी २ हजार ८३१ घरमा क्षति पुर्याएको छ । तीमध्ये विदुर नगरपालिकाका २ हजार ५५४, बेलकोटगढी नगरपालिकाका १९५, तारकेश्वर गाउँपालिकाका ४८ र किस्पाङ गाउँपालिकाका ३४ घर प्रभावित भएका छन् ।
बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिक अझै पुनर्स्थापनाको पर्खाइमा छन् । पीडितहरूले सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षित आवास र दीर्घकालीन पुनर्वासको व्यवस्था तत्काल गर्न माग गर्दै आएका छन् ।

