अविरल वर्षाले बीपी राजमार्ग ठप्प, यात्रु उद्धारमा सुरक्षाकर्मी सक्रिय



काठमाडौँ, वैशाख १३ — शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।काभ्रेपलाञ्चोकको मङ्गलटार क्षेत्रमा सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने उद्धार कार्य तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार अलपत्र परेका यात्रुहरूमध्ये विशेषगरी महिला, बालबालिका तथा विदेश जाने टिकट भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार भकुण्डेबाट तेमालतर्फको वैकल्पिक बाटो प्रयोग गरी उद्धारको पहल गरिएको छ। यसका लागि १६ वटा चारपाङ्ग्रे सवारी साधन परिचालन गरिएको छ।

प्रशासनका अनुसार यात्रुहरूलाई मङ्गलटार नजिकैको झोलुङ्गे पुलमार्फत खोला पार गराएर भकुण्डेतर्फ ल्याउने व्यवस्था मिलाइएको छ। उद्धार कार्यका लागि प्रहरी नायव उपरीक्षक रबिन बिष्टको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् भने स्थानीय तहसँग पनि समन्वय गरिएको छ।
सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएपछि ट्राफिक व्यवस्थापनका लागि अतिरिक्त ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ। प्रशासनले पूर्वबाट काठमाडौँ आउन चाहने सवारी साधनलाई बीपी राजमार्ग प्रयोग नगर्न र वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ। यसबारे सिन्धुली प्रशासनसँग समेत समन्वय भइरहेको जनाइएको छ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेका अनुसार अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थान—चौकीडाँडा, घुमाउने, चारसयबेसी, गिम्दी, नार्के, चिउरीबास र कालढुङ्गा—मा डाइभर्सन सडक बगाएको छ। बिहानदेखि मर्मत कार्य सुरु गरिए पनि निरन्तर वर्षाले काममा अवरोध पुर्‍याएको छ।

यसअघि डेढ वर्षअघि आएको बाढीले भकुण्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक क्षति गरेको थियो। पुनर्निर्माण जारी रहे पनि हाल डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको सडक पुनः अवरुद्ध भएपछि यातायात व्यवस्था प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्