विमानको इन्जिनमा आगलागी, ६ जना घाइते



काठमाडौं, वैशाख १३ । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्ने तयारीकै क्रममा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन्।

आइतबार बिहान सबेरै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त घटना दिल्लीबाट जुरिखतर्फ जाँदै गरेको उडानसँग सम्बन्धित हो। बिहान करिब १:०८ बजे धावनमार्गमा रहेको विमानको इन्जिनमा अचानक आगो देखिएपछि उडान रोकिएको हो।

विमानमा कुल २३२ जना सवार रहेका थिए, जसमा २२४ यात्रु र ४ शिशु पनि रहेका थिए। आगलागी भएपछि सबै यात्रुलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घाइतेहरूलाई नजिकैका निजी अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका चालकले सतर्कता अपनाउँदै उडान रद्द गरी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने निर्णय लिएका थिए।उक्त विमान ठूलो आकारको यात्रुवाहक रहेको बताइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्