अतिक्रमणमा बनेका संरचना हटाउन डोजर, नुवाकोटमा बल प्रयोग
काठमाडौं, वैशाख १३ । ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत सडक विस्तारका क्रममा नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा अतिक्रमण गरेर बनाइएका सरकारी तथा व्यक्तिगत संरचना हटाउन सुरु गरिएको छ।
योजनाको पहुँच मार्गभित्र परेका संरचनाहरू शनिबारदेखि डोजर प्रयोग गरी हटाउन थालिएको हो। आयोजनाको कार्यालयका अनुसार नुवाकोट जिल्लाभित्र पर्ने एक दर्जन सरकारी कार्यालय तथा ८६ घरधनीले अतिक्रमण गरेर बनाएका संरचनाहरू बल प्रयोग गरी हटाइँदै छन्।
सडक विस्तार कार्यलाई तीव्र बनाउन तथा निर्धारित मापदण्डअनुसार सडक क्षेत्र खाली गराउन यस्तो कदम चालिएको आयोजनाले जनाएको छ। प्रभावित स्थानीयवासीसँग यसअघि नै संरचना हटाउन आग्रह गरिए पनि अटेरी भएपछि बल प्रयोग गर्नुपरेको जनाइएको छ।
सडक विस्तारसँगै उक्त क्षेत्रमा यातायात सुविधा सुधार हुने अपेक्षा गरिएको छ।

