यार्सागुम्बा ‘सिजन’ सुरु : गोरखा छेकम्पारका बासिन्दा लेकतिर उक्लिँदै
गोरखा, वैशाख १३ । जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि लेकतिर उक्लिन थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका स्थानीय एक साताअघिदेखि उच्च पहाडी क्षेत्रमा जान थालेका हुन् ।
स्थानीय साङ्पा लामाका अनुसार यार्सागुम्बा ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतर्फ लागेका छन् । छेकम्पारका अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत यही भएकाले हिउँ पूर्ण रूपमा नपग्लिँदै पनि उनीहरू लेकतिर उक्लिएको उहाँले बताउनुभयो ।
तिब्बती सीमाना आसपासका छेके, बाजुलगायतका लेक क्षेत्रमा पुगेर यार्सागुम्बा सङ्कलन गरिन्छ । हरेक वर्षझैँ यसपटक पनि याक, चौँरी र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै स्थानीयवासी लावालस्करसहित लेकतर्फ प्रस्थान गरेका छन् । लेक पुगेपछि करिब एक महिनासम्म पाल टाँगेर बस्ने प्रचलन रहेको छ । “घरमा बुढापाका मात्रै बस्छन्, अरु सबै लेकतिरै जान्छौँ,” लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भन्नुभयो, “यार्सागुम्बा बेचेरै वर्षभरिको खर्च जुटाउनुपर्छ।”
स्थानीय नियमअनुसार छेकम्पार बाहिरका व्यक्तिलाई यहाँका लेकमा यार्सागुम्बा सङ्कलन गर्न निषेध गरिएको छ । गाउँका बासिन्दाले भने समितिलाई जनही पाँच सय रुपैयाँ शुल्क तिरेपछि मात्र सङ्कलन अनुमति पाउने व्यवस्था गरिएको छ ।
विगतमा अभिभावकसँगै बालबालिका पनि लेकतिर जाने चलन थियो । तर यस वर्षदेखि बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि बालबालिकाको शिक्षामा सहजता आएको स्थानीयले बताएका छन् ।
विद्यालयका मुख्य लामा पासाङ फुञ्जोका अनुसार करुणा स्वास्थ्य संस्था र ‘जोसेफ फर डिग्निटी’ नामक विदेशी संस्थाको सहयोगमा चुमगुम्बामा आवासीय व्यवस्था मिलाइएको हो । यस व्यवस्थाले अभिभावक लेकतिर गए पनि बालबालिका छात्रवासमै बसेर नियमित अध्ययन गर्न पाउने र विगतजस्तो विद्यालय बन्द गर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

